मंसिर १, काठमाडौं, — नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज साँझबाट सुरु हुँदैछ। सुरुआती खेलमा गत संस्करणका च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज एक–अर्कासँग भिड्ने भएका छन्। यी दुई टोली अघिल्लो संस्करणमा एक पटक मात्र आमनेसामने हुँदा जनकपुरले पाँच विकेटको जित हात पारेको थियो।

जनकपुर बोल्ट्स यसपटक पनि अनिल साहको नेतृत्वमा खेल मैदानमा उत्रिदैछ। टोलीमा मार्की खेलाडीका रूपमा रहेका आसिफ शेखसहित शुभ कंसाकार, मायान यादव, आदित्य महतो, विकास आग्री, ललित राजवंशी, सचिन भट्ट र तुलबहादुर थापा छन्। विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका इमरान ताहिर तथा वायन पार्नेल, नामिबियाका लफ्टी इटन र अमेरिकाका लाहिरू मिलान्था समावेश छन्। टोलीलाई वेस्ट इन्डिजका पूर्वतारा शिवनारायण चन्द्रपलले प्रशिक्षण दिने छन्। अघिल्लो संस्करणमा जनकपुरलाई उपाधि दिलाउन योगदान गरेका जिमी निसम यसपटक पोखरा एभेन्जर्सबाट खेल्दै छन्।

त्यस्तै काठमाडौं गोर्खाजको कप्तानी फेरि पनि करण केसीले नै सम्हाल्नेछन्। काठमाडौंले भारतीय क्रिकेटर सन्नी पटेल, नामिबियाका कप्तान जेरार्ड एरासमस, इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका हेनरिक क्लासन र रिकार्डो भास्कोन्सेलोस तथा अमेरिकी अलराउन्डर मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ। काठमाडौंले आफ्ना छ खेलाडी रिटेन गरेको थियो र अक्सनमार्फत मोहम्मद आदिल आलम अन्सारीलाई टिममा समावेश गरेको हो। टोलीको प्रशिक्षकको जिम्मेवारी भारतका मोन्टी देसाईलाई दिइएको छ।

दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मंसिर २७ गतेसम्म सञ्चालन हुँदैछन्। यसपटक अधिकांश खेलहरू रातमा फ्लडलाइटमा हुनेछन्, जसका लागि भव्य तयारी भइरहेको क्यानका सचिव पारस खड्काले बताए। उनका अनुसार घरेलु मैदानमै पहिलोपटक फ्लडलाइटमा टी–२० लिग आयोजनाको सपना साकार हुँदैछ।

सिंगल राउन्ड–रोबिन ढाँचामा हुने लिगमा २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्, जहाँ पहिलो र दोस्रो बीचको क्वालिफायर–१ को विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। तेस्रो र चौथो टोलीबीचको एलिमिनेटरको विजेता क्वालिफायर–२ मा पुगेको पराजित टोलीसँग भिड्नेछ। फाइनल मंसिर २७ मा हुनेछ।

एनपीएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। सबै फ्रेन्चाइजले आफ्ना मार्की खेलाडीलाई रिटेन गरेका छन् — जसमा विराटनगरका सन्दीप लामिछाने, जनकपुरका आसिफ शेख, काठमाडौंका करण केसी, चितवनका कुशल मल्ल, पोखराका कुशल भुर्तेल, लुम्बिनीका रोहित पौडेल, कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी छन्।

क्यानले यस संस्करणबाट ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। प्रायोजक, फ्रेन्चाइज शुल्क, टिकट बिक्री, ओटीटी तथा टेलिभिजन अधिकारमार्फत आम्दानी हुने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताए।

उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख हात पार्नेछ।