पंचगावाँ / १ मंसिर / सखुवा प्रसौनी गाउँपालिकामा आज १ गतेदेखि सुरू भएको गाउँपालिका स्तरीय फुटबल खेलाडी छनोट प्रतियोगिता भोलि २ गतेसम्म जारी रहनेछ। गाउँपालिकाको आयोजनामा प्रारम्भ गरिएको यो खेलकुद कार्यक्रमले अहिले सम्पूर्ण क्षेत्रका खेलकुदप्रेमीको ध्यान तानेको छ। गाउँपालिकाका विभिन्न वडाबाट आएका युवा खेलाडीहरूले आफ्नो प्रतिभा देखाइरहेका छन् भने प्रशिक्षित तथा दक्ष टोली निर्माण गर्ने लक्ष्यसहित फुटबल टीम सेलेक्सन औपचारिक रूपमा सुरु भएको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले पर्सा जिल्लाका अनुभवी फुटबल प्रशिक्षक ग्रिष्ममणि शाक्यालाई सेलेक्सनको सम्पूर्ण जिम्मा औपचारिक रूपमा हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। अध्यक्ष यादवका अनुसार आठ वर्षअघि स्थानीय तह गठन भएयता गाउँपालिकाले अझै पनि एउटा व्यवस्थित, अनुशासित र दिगो फुटबल टिम निर्माण गर्न नसकेको यथार्थताले आफूलाई निरन्तर खटाइरहेको थियो।

अध्यक्ष यादवले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, “हाम्रो गाउँपालिकामा विभिन्न वडाबाट खेलाडीहरू आएर सहयोग मागिरहनुहुन्थ्यो कसैले जर्सी चाहिन्छ भन्थे, कसैले बुट, कसैले सामाग्री माग्थे। एउटा टोलमा केही सामग्री दिएर मात्रै खेल संस्कृतिको विकास हुँदैन। अब हामीले यो सबैलाई व्यवस्थित र दीर्घकालीन योजनामार्फत अगाडि बढाउने निर्णय गरेका छौँ। यही सेलेक्सनबाट गाउँपालिकाको आधिकारिक फुटबल टिम तयार गर्ने हमाराे उद्देश्य हो।”

उहाँका अनुसार पाँचवटा टिम बनाएर खेलाडीहरूको प्रारम्भिक छनोट गरिएको छ। “यदि मैले आफैँ सेलेक्सन गरेको भए विवाद हुने सम्भावना थियो, त्यसैले निष्पक्ष ढंगले प्रशिक्षकमार्फत छनोट गराइरहेका छौँ। पाँच टिममध्ये उत्कृष्ट समावेश गरेर एउटा बलियो गाउँपालिका स्तरीय टिम निर्माण हुनेछ,” अध्यक्ष यादवले स्पष्ट पार्नुभयो।

आगामी दिनमा सखुवा प्रसौनी गाउँपालिकाको टिमले पारसवा गोल्डकप, सिमरा गोल्डकप, बीरगञ्ज गोल्डकप लगायतका प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागी हुने योजना रहेको अध्यक्ष यादवले जानकारी गराउनुभयो। प्रतियोगितामा सहभागी हुनुअघि कम्तीमा तीन महिने क्याप समेत गराइने उहाँको भनाइ छ।

“छनोट भएर आउने खेलाडीका लागि बुट, जर्सी, फुटबल फिल्ड, प्रशिक्षण खर्चदेखि गोल्डकपमा जाँदा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्नेछ। खेलाडीहरूलाई प्रोत्साहन दिने विषयमा म जति सकिन्छ त्यति अघि बढ्छु  यो मेरो व्यक्तिगत प्रतिबद्धता पनि हो,” अध्यक्ष यादवले दृढ स्वरमा भन्नुभयो।

अध्यक्ष यादवका दृष्टिमा खेल मात्र शारीरिक गतिविधि होइन, युवालाई अनुशासन, नेतृत्व र सामाजिक एकताको बाटोमा अघि बढाउने महत्वपूर्ण माध्यम हो। उहाँले ठूलो संख्यामा युवा खेलाडीहरूको उपस्थिति र उत्साहबाट आफू अत्यन्तै प्रोत्साहित भएको उल्लेख गर्दै आगामी वर्षहरूमा खेलकुद पूर्वाधार तथा नियमित प्रशिक्षण प्रणालीलाई अझै व्यवस्थित बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

गाउँपालिका स्तरीय फुटबल टिम निर्माणको यो अभियानले सखुवा प्रसौनीका युवाहरूलाई थप प्रेरणा दिने विश्वास राखिएको छ। भोलि दोस्रो तथा अन्तिम दिनसम्म चल्ने छनोट प्रतियोगितापछि गाउँपालिकाको आधिकारिक टिम घोषणा गरिने योजना छ।