२ मंसिर, पर्सा,— देशव्यापी आन्दोलनका लागि मंसिर ७ गते सर्वसाधारणको दैनिकी रोक्ने चेतावनी सार्वजनिक गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँलाई मंगलबार बिहानै उनकै निवासबाट नियन्त्रणमा लिएर प्रहरी परिसरमा ल्याइएको हो। उनले सार्वजनिक शान्ति र सुरक्षामा असर पार्ने गतिविधि गर्दै आएको भन्ने आरोपमा अनुसन्धान अघि बढाइएको बताए।

‘नागरिकका रूपमा लगातार उग्र अभिव्यक्ति दिँदै सार्वजनिक शान्ति भंग गरेको आशङ्का भएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो,’ एसपी भट्टराईले नागरिकन्युजसँग भने।

प्रसाईँले पक्राउ पर्ने अघिल्लो दिन मात्रै सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगलागी, विभिन्न घटनामा भएको मानवीय क्षति र राजनीतिक सत्ता–समिकरणका गतिविधिबारे प्रश्न उठाउँदै एक विशेष भिडियो सार्वजनिक गरेका थिए। उनले मल्ल होटलदेखि बानेश्वरसम्मका स्थानलाई उदाहरण दिंदै विगतका राजनीतिक गतिविधिहरूमा ‘के–कसरी भयो’ भन्ने बयान राखेका थिए।