२ मंसिर, काठमाडौं—दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज रोमाञ्चक दुई प्रतियोगिता हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे सुरू हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। दुवै टिम यस संस्करणमा उत्कृष्ट सुरुआत गर्दै प्रारम्भिक चरणमै लय समात्ने लक्ष्यमा छन्। चितवनको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णाली याक्सलाई अनुभवी बलर सोमपाल कामीले नेतृत्व गर्नेछन्।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ। विराटनगरको कप्तानी पूर्व–राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन् भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले नेतृत्व दिनेछन्। दुवै टोलीले नयाँ सिजनमा प्रभावशाली प्रदर्शन गर्दै विजयी अभियान सुरू गर्ने लक्ष्य राखेका छन्।

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरेको थियो। सो जितसँगै काठमाडौंले अंकतालिकामा महत्वपूर्ण दुई अंक सुरक्षित गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ गते हुने तालिका रहेको छ। प्रतियोगिताका विजेताले रु १ करोड १० लाख पुरस्कार राशि हात पार्ने क्यानले जनाएको छ। साथै, एनपीएलका सबै खेलहरू प्रत्यक्ष प्रशारणमार्फत हेर्न सकिनेछ।