पर्सा, ३ मंसिर । वीरगन्जस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखिएका दुई वटा यात्री बसमा मध्यराति भीषण आगलागी भएको छ।

वीरगन्ज–१६ अन्तर्गतको नयाँ बसपार्कमा राति करिब पौने १ बजे अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगलागी हुँदा जम जम ट्राभल्स अन्तर्गत सञ्चालन हुने ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुईवटै बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगोको तीव्रताका कारण दुवै बस क्षतिग्रस्त भएर प्रयोग योग्य समेत नरहेकाे बताइएकाे छ।

आगो लागेको सूचना पाएपछि प्रहरी टोली र वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रण दस्ता घटनास्थलमा पुगेका थिए। दमकलको सहयोगमा करिब केही समयपछि मात्र आगो नियन्त्रणमा ल्याउन सफल भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए।

उनका अनुसार आगलागी कसरी भयो भन्ने विषयमा हालसम्म ठोस कारण खुलेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको र सम्भावित कारण पहिल्याउन विभिन्न कोणबाट अध्ययन भइरहेको उनले बताए।

घटनाले नयाँ बसपार्क क्षेत्रमा रातिको सुरक्षा व्यवस्थाप्रति पनि प्रश्न उठेको स्थानीयवासीहरूले बताएका छन्।