३ मंसिर, पर्सा । बाराको जीतपुरसिमरा क्षेत्रमा बिहान देखि अहिले सम्म उत्पन्न तनाव बढेपछि स्थानीय प्रशासनले सिमरा विमानस्थल आसपास कर्फ्यु लगाएको छ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल तथा नेता महेश बस्नेत एक कार्यक्रमका लागि सिमरा हुँदै परवानीपुर जाने सूचना सार्वजनिक भएपछि युवाहरूले प्रणालीगत रूपमा विरोध प्रदर्शन थालेको थिए।

‘जेन–जी’ समूहका युवाहरू विमानस्थल चोकमा भेला भई “शङ्कर–महेश फर्क, सिमरा छोड” भनेर नाराबाजी गर्दै सडकमा उत्रिएका थिए। स्थिति केही बेरमै उग्र बनेपछि प्रदर्शनकारी र एमाले समर्थकबीच धक्का–मुक्का, ढुङ्गामुढा र हातहालाहाल सुरु भएको थियो।

उग्र भीडले सिमरा विमानस्थलको मुख्य गेटसहित अन्य भौतिक संरचनामा तोडफोड गरेपछि वातावरण झन् तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। भीड नियन्त्रणका क्रममा प्रहरीलाई अश्रुग्यास प्रयोग गर्नुपरेको र दुवै पक्षबाट केही व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी आएको छ।

झडपका कारण सिमरा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ भने मङ्गलवारका सबै आन्तरिक उडान रद्द भएपछि सयौँ यात्रु अलपत्र परेका छन्।

स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मङ्सिर ३ गते दिउँसो १२:३० बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु गण्डक नहरदेखि पथलैया खण्डमार्गको दायाँ–बायाँ ५०० मिटर सीमा तथा सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रमा लागू हुने जनाइएको छ। यस अवधिमा हिँडडुल, भेलाभेला, सभा, जुलुस तथा कुनै पनि किसिमको प्रदर्शन निषेधित हुनेछ।

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएको छ। केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। विमानस्थल क्षेत्र अहिले पनि कडाइका साथ घेराबन्दीमा राखिएको छ।

प्रशासनले सबै पक्षलाई संयमित रहन आग्रह गर्दै आवश्यक परे कर्फ्यु अवधि थप गर्ने चेतावनी दिएको छ।