वीरगंज, ३ मङ्सिर। पर्सा प्रहरीले करीब ३७ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले बुधवार पत्रकार सम्मेलन गर्दै वडा प्रहरी कार्यालय, श्रीपुरको टोलीले वीरगंज महानगर–३२ जीतपुरबाट मिलनचोकतर्फ जाँदै गरेको स्कूटी रोकेर चेकजाँच गर्ने क्रममा चोरीमा संलग्न रहेको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

गत कात्तिक ३० गते दिउँसो २ बजे चेकजाँचका क्रममा लु.९६प ३७३३ नम्बरको स्कूटीमा सवार भारत, बिहारका ३३ वर्षीय विजय राय र ६० वर्षीय शेख बुनादको साथबाट सुनचाँदीका गरगहना फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक बयानका आधारमा वीरगंज–३२ टेढा मुसहरटोलस्थित विद्याकुमार नटको घरमा गरिएको घरतलासीबाट थप गहना बरामद गरिएको प्रहरीले जनाएको छ। साथै यस घटनामा संलग्न बेतियाका ३१ वर्षीय विनोद राउतलाई पनि पक्राउ गरिएको छ।

प्रहरीका अनुसार बरामद गरगहनाको अनुमानित मूल्य ३६ लाख ७० हजार ५१ रुपैयाँ रहेको छ भने नेपाली नगद तीन लाख ७९ हजार र भारतीय नौ हजार दुई सय पनि फेला परेको छ। सिक्री, झुम्का, नथिया, औंठी, बाला, बिछिया, माला, लकेटलगायतका गहनासहित बरामद सामग्रीको सूची सार्वजनिक गरिएको छ। पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।