बाराको सिमरा क्षेत्रमा सोमबार पनि प्रशासनले कर्फ्यु जारी राखेको छ। जेनजी युवा समूह र प्रहरीबीच दोहोरिएको झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु थप कडाइका साथ लागू गरेको हो। पथलैया चोकदेखि जीतपुर लल्कापुलसम्मको त्रिभुवन राजपथ क्षेत्र तथा सिमरा विमानस्थल वरपर ५ सय मिटर क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

जेनजी युवा समूहका अगुवामाथि कुटपिट भएको आरोपपछि आन्दोलन चर्किएको छ। दोषीमाथि कारबाही माग गर्दै उनीहरूले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्। प्रदर्शन तीव्र बन्दै जाँदा बजार बन्द भएको छ भने त्रिभुवन राजपथमा यातायात पूर्ण अवरुद्ध भएको छ। विमानस्थल अगाडि प्रदर्शनपछि प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रयोगबाट स्थिति झनै तनावपूर्ण बनेको बताइएको छ।

किटानी जाहेरीमा नाम समेटिएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।