पर्सा, ७ मंसिर /  मकवानपुरको मनहरी–लोथर तथा धादिङका दुर्गम पहाडी क्षेत्रबाट उत्पादन हुने गाँजा पछिल्ला वर्षहरूमा पर्सा मार्ग हुँदै भारततर्फ तीव्र गतिमा जान थालेको स्थानीय सुरक्षा निकायले जनाएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जको घना जंगल तथा कम जनघनत्व भएका क्षेत्र तस्करीका सुरक्षित बाटोका रूपमा द्रुत प्रयोग भइरहेका छन्। विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्तीदेखि गढुवालाइनसम्मका बस्तिहरू तस्करीको भण्डारण, व्यवस्थापन र लॉजिस्टिक केन्द्रका रूपमा पहिचान गरिएका छन्।

भारतको बिहार विधानसभा चुनावका कारण केही समय सुस्त देखिएको तस्करी गतिविधि मतपरिणाम सार्वजनिक भएलगत्तै फेरि चहलपहलमा फर्किएको सुरक्षातन्त्रले जनाएको छ। चुनावअघि नै ठूलो परिमाणमा मकवानपुर–धादिङ क्षेत्रबाट ल्याइएको गाँजा पर्साका ग्रामीण बस्तीहरूमा भण्डारण गरिएको र चुनाव सकिएसँगै ती मात्रा सीमा पार गरिन थालिएको बताइएको छ। मनहरी–लोथर–पटेर्वासुगौली मार्ग मुख्य रुटका रूपमा व्यापक प्रयोग हुने गरेको छ भने सोनवर्षा, कञ्चनपुर, देकुली, जीराभवानी, सखुवनिया, भवानीपुरलगायतका मार्गहरू पनि हाल अत्यधिक सक्रिय बनेका छन्।

स्थानीयवासीले तस्करी नियन्त्रणमा प्रहरीले देखाएको कडाइका दाबीलाई चुनौती दिँदै कतिपय प्रहरी इन्चार्ज तथा घुमुवा प्रहरी नै तस्करीमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्। पटेर्वासुगौली, ठोरी र पोखरीयामा दर्जनभर घुमुवा प्रहरी परिचालन भई एनसेल नेटवर्कमार्फत तस्करहरूसँग समन्वय गरिएको आरोप स्थानीय स्तरमा खुलेर उठाइएको छ। पर्सामा वर्षौँयता स्थानीय उत्पादन घट्दै गएको भए पनि मकवानपुर र धादिङमा उत्पादित गाँजा कम मूल्यमा किनेर पर्सामा दोब्बर मूल्यमा, र भारततर्फ झन्डै पाँचगुनासम्ममा बिक्री हुने भएकाले यो अवैध कारोबार अत्यधिक लाभदायक बनेको सुरक्षातन्त्रको मूल्यांकन छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो वर्षमा लागूऔषध बरामदीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। आव २०८१/८२ मा ४६७ किलो गाँजा, ९१ किलो चरेस र ७६६ ग्राम खैरो हेरोइन बरामद भएको थियो भने चालू आवको कात्तिक मसान्तसम्म १,५६१ किलो गाँजा, ६२५ किलो चरेस र ३८४ ग्राम खैरो हेरोइन समातिएको छ। यस अवधिमा ३५ जना स्वदेशी तथा विदेशी तस्कर पक्राउ परेका छन्। जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले तस्करी नियन्त्रण उच्च प्राथमिकता भएको बताउँदै सीमावर्ती क्षेत्रमा गस्ती, चेकजाँच र सूचना–आधारित अपरेशन अझ कडा गरिएको बताए। तर कडाइ हुँदाहुँदै पनि तस्करी बढ्दो क्रममै रहेकाले स्थानीयवासीले निकुञ्ज क्षेत्र तथा तस्करीका सक्रिय मार्गहरूमा थप निगरानी र पारदर्शिता सुनिश्चित गर्न आग्रह गरेका छन्।