७ मंसिर, विराटनगर / नेकपा एमालेका नेता महेश बस्नेत सुनसरीको इटहरी पुगेपछि नयाँ पुस्ताका युवा (जेनजी) का समूहले दुहबीमा पनि प्रदर्शन गरेका छन्। बस्नेत तथा एमाले नेता भानुभक्त ढकाल सवार गाडी क्रस भइसकेपछि स्थानीय युवाहरूले सडकमा टायर बालेर विरोध जनाएका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार आन्दोलनकारीले आगो लगाएको टायर प्रहरी प्रहरी टोलीले तुरुन्तै हटाएर सडक सुचारु गराएको छ। “नेता क्रस भइसकेपछि टायर बालिएको थियो, अहिले स्थिति नियन्त्रणमा छ,” डिएसपी खड्काले बताए।

यसअघि विराटनगर विमानस्थल अगाडि बस्नेत सवार गाडीमाथि दुई युवाले रातो मसी प्रहार गरेका थिए। मसी फाल्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् भने कुँवर पनि नेविसंघ निकट कार्यकर्ता रहेका छन्।