धनुषा, मंसिर – ७ / धनुषाको मिथिला नगरपालिका–२, हजरा चोकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका–१, लक्ष्मीनिवासकी ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको हो।

सडक पार गर्दै गरेका सुमित्रा देवी र उनका श्रीमान् ६० वर्षीय राजकुमार महतो सवार साइकललाई बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाइते राजकुमार महतोलाई स्थानीय बासिन्दा र प्रहरी टोलीले तत्काल उद्धार गरी जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको थियो।

दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।