पर्सा, ८ मंसिर — सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, मालिबस्ति क्षेत्रमा नियमित सवारी जाँचका क्रममा करिब ९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले जाँचका क्रममा उक्त गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले मिति २०८२ मंसिर ८ गते (सोमबार) सीमा क्षेत्र नजिकै सञ्चालन गरिएको चेकजाँचका क्रममा प्र.०२.००१ प ५२०२ र BR 22 AK 2944 नम्बरका दुई मोटरसाइकललाई रोकेको थियो।

जाँचको क्रममै मोटरसाइकल चालकहरू सवारी साधन त्यहीँ छोडेर फरार भएपछि प्रहरीले तत्काल सवारी साधनहरूको विस्तृत खानतलासी गरेको बताइएको छ। सोही क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र विशेष रूपमा लुकाइ–छिपाइ राखिएको अवस्थामा अनुमानित ९ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गाँजासँगै दुवै मोटरसाइकल र एक थान एन्ड्रोइड मोबाइल सेट समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्साका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले बताए।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न समूहहरू सक्रिय बनेको भन्दै तिनविरुद्ध निगरानी र कारबाही अझ सशक्त बनाइने प्रतिबद्धता जनाएको छ।