पर्सा ९, मंसिर,– रौतहटको भुसाहा गाउँमा युवतीको परिवारकै सदस्यले गरेको सनसनीपूर्ण हत्या पर्दाफास, रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको आफ्नै घरपरिवारको संलग्नतामा गरिएको क्रुर हत्या प्रकट भएको छ। शेख आदिलकी पत्नी खातुनको शव सोमबार राति घरमै भुस राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

मंगलबार बिहान घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले माटोमा पुरिएको अवस्थामा खातुनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। खातुनका पति शेख आदिल हाल वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन्।

घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार भएका छन्। उनीहरू खातुनको डेढ वर्षे छोरा मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए। मृतकको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ।

घटनाको शुरुवाती अनुसन्धान अनुसार कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा खातुन आफ्नै भतिजो पर्ने शेख अलाहुदिन (गुड्डु)सँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा भेटिएपछि परिवारले उनीहरूलाई विवाह गराइदिने सहमतिसमेत जनाएका थिए। त्यसपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा दुवैलाई छाडिएको मृतकका बुबा ताज मोहम्मदले बताए।

तर सोमबार राति खातुनका भाइ शेख आस मोहम्मद ससुराली पुगेका बेला आफ्नै दिदीमाथि कुटपिट गरी हत्या गरिरहेको देखेपछि परिवारका सदस्यले उनलाई ‘हल्ला गरे मारिदिन्छौं’ भनेर धम्की दिएको र त्यसपछि उनी भागेर ज्यान जोगाउन सफल भएको परिवारजनले बताएका छन्। भाइले घटना स्थलको तस्बिर समेत माइतीतर्फ पठाएका थिए।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गम्भीर चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिन्छ। घटनास्थलबाट एक चक्कु पनि बरामद गरिएको छ। खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।

फरार रहेको परिवारका सदस्यहरूमाथि प्रहरीले खोजी अभियान तीव्र पारेको जनाएको छ।