वीरगंज (पर्सा), १० मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले सीमावर्ती क्षेत्रमा लागुऔषध तथा चोरी–तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको छ। यही क्रममा मंगलबार विशेष सूचनाका आधारमा गरिएको Intelligence Led Operation मा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार लागुऔषध दुर्व्यसनले समाजमा पार्ने गम्भीर असरलाई ध्यानमा राख्दै प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा नियन्त्रण अभियानलाई अभियानकै रूपमा अघि सारिएको छ। सोहीअनुसार सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५ बटसौरामा अपरेशन सञ्चालन गरेको हो।

टोलिले खेतको परालको कुन्यु भित्र लुकाएर राखिएको अवस्थामा २१३ किलोग्राम (दुई क्विन्टल १३ किलोग्राम) गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन्। २० वटा पोकामा प्याक गरिएको उक्त गाँजा बरामद गरी आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।