पर्सा, मंसिर। ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा आज वडा नं. ४ घ्याङ्गडाडाको खेलमैदानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सेवा प्रवाहसम्बन्धी समस्या तथा सुधारका सुझाव खुला रूपमा राख्न नागरिकलाई अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको थियो।

वडाध्यक्ष मानबहादुर थिङ्गको सभापतित्व र गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरूले नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतका काममा इलाका प्रशासन कार्यालय सुपौलीमा घुस र दलालको चलखेल बढेको आरोप लगाए। सेवाका लागि हजारौँ रुपैयाँ असुल्ने, घुस नदिए महिनौँसम्म काम रोकिने समस्या फैलिँदै गएको गुनासो नागरिकले राखे।

उक्त आरोपको जवाफ दिँदै जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सुपौली इलाका प्रशासन कार्यालयका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा घुस–घुसियाको गतिविधि नरहेको दाबी गरे। उनले आफूलाई कुनै आधिकारिक गुनासो नआएको बताउँदै प्रमाण भेटिए कडा कारबाही हुने चेतावनी दिए। कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उपस्थिति थियो।