काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने व्यक्तिगत इच्छा अब धेरै नरहेको स्पष्ट गरेका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले देशले आवश्यक ठाने मात्र जिम्मेवारी लिन तयार रहने बताए।

प्रचण्डले पार्टी वरिष्ठ नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि आफूलाई पुनः प्रधानमन्त्रीको रूपमा देख्ने चाहना व्यक्त गरेको उल्लेख गर्दै भने, “प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले मागे भने फेरि जिम्मेवारीबाट पन्छिने मेरो बानी छैन।” उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कडा अभियान चलाएको दाबी गर्दै सङ्ख्यात्मक समीकरणका कारण सरकारबाट हटाइिएको पनि उल्लेख गरे।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण देशभर जेनजी विद्रोह देखा परेको आरोप लगाए। जेन जेडले उठाएको माग उचित रहेको बताउँदै प्रचण्डले युवा पुस्ताको आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक रहेको धारणा राखे।