१० मंसिर, जनकपुरधाम। मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट प्रभावित धानबाली भएका किसानलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार यो राहत वितरणका लागि करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै प्रदेश सरकारले बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने तयारीसमेत सार्वजनिक गरेको छ।

मुख्यमन्त्री सरोज कुमार यादवले पत्रकार सम्मेलनमार्फत किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको बताए। लामो समयको खडेरीपछि असोजमा आएको अविरल वर्षाले धानबालीमा दोहोरो क्षति पुगेका कारण मधेश प्रदेशका धेरै गाउँ–टोल सुक्खाग्रस्त र डुबान–पीडित बनेका थिए। यसअघि नै प्रदेश सरकारले मधेशका जिल्लाहरूलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको थियो।

युवाका लागि बेरोजगार भत्ता योजनामा १८–३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर रोजगारविहीन युवालाई प्रतिमहिना २ हजार रुपैयाँ वितरण गरिने भएको छ। करिब १ लाख ४८ हजार युवा यस श्रेणीमा पर्ने अनुमान छ। भत्ता वितरणको प्रक्रिया अघि बढाइएको जानकारी मुख्यमन्त्री यादवले दिँदै यसले युवालाई अस्थायी राहतका साथै रोजगारी खोज्ने क्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे।