१० मंसिर, काठमाडौँ। बंगालको खाडीमा विकसित भएको नयाँ चक्रवातीय प्रणाली तीव्र बन्दै गएपछि भारतको मौसम विभाग (आईएमडी) ले आकस्मिक चेतावनी जारी गरेको छ। ‘सेनयार’ नामक चक्रवात आगामी २४ घण्टाभित्र जमिनतिर उन्मुख भई तटीय क्षेत्रमा प्रवेश गर्ने उच्च सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी अन्डमान सागर क्षेत्रमा मौसम छिटो बिग्रिने चेतावनीसमेत आईएमडीले दिएको छ।

मौसम पूर्वानुमान संस्था स्काइमेट वेदरले चक्रवात सेनयार करिब ४८ घण्टाभित्र भारतीय भूभागमा पुग्ने अनुमान गरेको छ। यस अवधिमा ४०–५० किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावा चल्ने, साथमा आँधीबेहरी र भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसको प्रत्यक्ष असर तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अण्डमान तथा निकोबार टापु क्षेत्रमा बढी पर्ने बताइएको छ, जहाँ यतिबेला तटीय कटान र बाढीको जोखिम उच्च छ।

आईएमडीले डिसेम्बर १ सम्म दक्षिण भारतका धेरै राज्य भारी वर्षा र हावाहुरीको जोखिममा पर्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रहरू समेत सम्भावित जोखिमको दायरामा परेका छन्। तटीय क्षेत्रमा सुरक्षाकर्मी, विपद् व्यवस्थापन टोली र प्राविधिक समूह परिचालन भइरहेका छन् भने स्थानीय प्रशासनले माछा मार्न जाने समूहलाई समुद्रमा नजान चेतावनी दिएको छ। मौसमविद्हरूका अनुसार यस वर्ष बंगालको खाडीमा चक्रवातीय सक्रियता असामान्य रूपमा बढेकाले जोखिम केही दिन अझै कायम रहने सम्भावना छ।