काठमाडौँ, १० मंसिर। अध्यागमन विभागले नेपालमा विदेशी नागरिकलाई अध्ययन गराउने शैक्षिक संस्थाहरुमाथि कडा अनुगमन गर्ने घोषणा गरेको छ। धेरै संस्थाले अध्ययनमा नियमित संलग्न नहुने विद्यार्थीलाई समेत आर्थिक फाइदाको लागि सहजै भर्ना गर्दै आएको र अध्ययन भिसा दुरुपयोग हुने गतिविधि बढेपछि विभागले कडाइ गर्न लागेको हो।

विभागले जारी गरेको विज्ञप्तिअनुसार कतिपय शैक्षिक संस्थाले विद्यार्थी नियमित रूपमा कक्षामा नबस्ने जानकारी हुँदाहुँदै पनि आम्दानीका लागि भर्ना गरेको, लामो समय नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा खोज्ने तथा कानूनले निषेध गरेका गतिविधिमा संलग्न विदेशीहरूलाई समेत भिसा सिफारिस गरेको पाइएको छ। अध्ययन भिसा लिने केही विदेशीले नक्कली कागजात पेश गर्ने, कोर्ष पूरा हुँदासमेत प्रमाणपत्र नपेश गर्ने र गैरकानूनी गतिविधिमा संलग्न रहनेजस्ता समस्या बढ्दै गएको विभागको निष्कर्ष छ।

विभागले शैक्षिक संस्थालाई केवल भिसा र आम्दानीका लागि विदेशी विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। विद्यार्थी नियमित रूपमा पठनपाठनमा संलग्न छन् कि छैनन् भन्ने यकिन गरेपछि मात्र भिसा सिफारिस गर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा देशभरका ७७ जिल्लाका अनुगमन समितिलाई विदेशी विद्यार्थी गतिविधि र संस्थाको अनुगमन कडाइका साथ अघि बढाउन निर्देशन गरिएको छ।