काठमाडौँ, १० मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली पिएचडीको शैक्षिक योग्यता पेस गरी त्रिभुवन विश्वविद्यालयमा सह–परीक्षा नियन्त्रकको नियुक्ति लिने प्रक्रियामा संलग्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिदा डिल्लिराम प्रसाईले आफूलाई पिएचडी प्राप्त भएको भनी झुटा कागजात पेश गरेको भेटिएपछि कारबाही अघि बढाइएको हो।

आयोगका अनुसार सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान तथा सदस्यहरू प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोखरेलले प्रसाईसँग मिलेमतो गरी परीक्षाको परिणाम फेरबदल गरेको भेटिएको छ। बदनियतका साथ परिणाम परिमार्जन गरी प्रसाईलाई प्रथम स्थानमा सिफारिस गरिएको र यही आधारमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले उनलाई २०८१ मंसिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति दिएको आयोगले जनाएको छ।

अख्तियारले प्रसाईले विद्यावारिधि प्राप्त नगरेको थाहा हुँदाहुँदै पिएचडी प्राप्त गरेको भन्दै आवेदन दिएकाे, प्रोभिजनल प्रमाणपत्रसमेत नप्राप्तीकै अवस्थामा पिएचडी वापत ८ अंक लिने उद्देश्यले झुटा विवरण पेस गरेको आरोप लगाएको छ। यस प्रकरणमा संलग्न चारैजनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाही आगे बढाइएको आयोगले जनाएको छ। हेर्नुहोस आयोगको विज्ञप्ति