मधेस प्रदेशसहित देशभर अहिले फेरि एक पटक उस्तै दृश्य दोहोरिएको छ—धान काटिसकेपछि गहुँ छर्ने समय, तर खेतमा मल छैन। कृषि प्रधान देशका किसान वर्षैभरि पिरलोमै खेतीपाती गर्दै आएका छन्, तर रासायनिक मलको अभाव आज पनि जस्ताको तस्तै रहिरहनु राज्य व्यवस्थाको विफलता र व्यवस्थापनको कमजोरीको प्रस्ट संकेत हो।

धान कटनी सकिएको केही दिनमै गहुँ छर्ने चटारो हुन्छ। खेती–पाती समयले चल्छ, किसानको योजना मौसमले निर्धारण गर्छ। तर मल वितरण भने कहिले समयमै हुन्छ, कहिले अभाव हुन्छ, कहिले धेरै परेपछि मात्रै पाइन्छ। यस्तो अवस्थामा किसानले खेतमा उस्तै ‘जोहो’ गरेर बालीनै छिर्नुपर्ने बाध्यता हुन्छ। गहुँ लगाउने संवेदनशील समयमा मल नपाउँदा उत्पादन घट्छ, लागत बढ्छ, र किसानको भविष्य बलौना नदीको धारझैं अनिश्चित बन्छ।
पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका मधेसका जिल्लामा हरेक वर्ष यस्तै समस्या पुनः दोहोरिन्छ। तर विडम्बना समस्या उस्तै, पीडा उस्तै, परिवर्तन र सुधारका पहल भने शून्य। सरकार, कृषि संघ-संस्था र मल आपूर्ति निकायहरूको समन्वय अभावले गर्दा किसानलाई मल ‘उपलब्ध गराउने’ कुरामा अक्षमताको चित्र फेरि स्पष्ट देखिन्छ।

नेपाल कृषिमा आधारित देश हो भनेर भाषणहरु धेरै सुनिन्छ। तर वास्तविकता उल्टो छ/ कृषिमा निर्भर किसानलाई राज्यले न राहत दिन्छ, न समयमा मल, न बीउबीजन, न आधुनिक प्रविधिको पहुँच। किसानले काम गर्छ, पसिना बगाउँछ, तर राज्यबाट चाहिने आधारभूत सुविधा उपलब्ध नहुँदा उनीहरूमाथि थप बोझ पर्छ।

किसानको पीडा हरेक वर्ष जस्तै बनेको छ । ‘बालीनै समयमै लगाउन नपाउने’, ‘मल नपाएर उत्पादन घट्ने’, ‘सरकारले आश्वासन मात्रै दिने’ तर व्यवहारिक काम शून्य। कृषि मन्त्रालयदेखि स्थानीय तहसम्मको समन्वय विखण्डित हुँदा वितरण प्रणाली अझै कमजोर बनेको छ।

यता मल अभावका कारण किसानले बालेनै ढिलो छिर्न बाध्य हुँदा आयाममा ठूलो प्रभाव पर्छ। उता मल आपूर्तिमा हुने ढिलासुस्तीलाइ मल माफियाको खेल, ठेकदारको स्वार्थ, र सरकारको उदासीनतासँग पनि जोडेर हेरिन्छ। कतिपय स्थानमा मल वितरणका नाममा राजनीतिक हस्तक्षेप, दलिय भागबण्डा र भ्रष्टाचारका आरोपहरु समेत उठिरहेका छन्, जसले किसानको विश्वास हराइरहेको छ। यति मात्र होइन, मल अभावले नेपालमा कृषि वृद्धिदर समेत स्थिर रहन नसक्ने अवस्था बनाएको छ। किसानले ऋण लिएर खेती गर्छन्, तर उत्पादन घटेपछि तिर्न सक्दैनन्। खेतीमा निराश किसानका छोराछोरी विदेश पसेर मजदूरी गर्न बाध्य छन्। कृषि जोगाउनुपर्ने बेलामा कृषि नै छोड्नुपर्ने परिस्थिति सिर्जना हुनु राष्ट्रकै असफलता हो।

आज देशभरिको कृषि संकट मल आपूर्ति नीतिबाट शुरू भएको जस्तो लागे पनि यसको गहिराइ धेरै गम्भीर छ दिगो कृषि योजना छैनन्, मल आयातमा भर परिरहनुपर्ने बाध्यता छ, र स्वदेशमै मल उत्पादन गर्ने उद्योगहरूको विकासमा राज्य अझै गम्भीर देखिँदैन।