पर्सा,११ मंसिर – समाजवादी प्रेस सङ्गठन नेपाल, पर्साले यही वर्ष स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशुकुमार सर्राफलाई प्रदान गर्ने निर्णय गरेको छ।

सङ्गठनले गठन गरेको पुरस्कार छनोट समितिको बिहीबारको बैठकले यात्रा डेलीका डेस्क सम्पादक सर्राफलाई दोस्रो संस्करणको स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। समितिका संयोजक तथा समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनका अनुसार, पुरस्कारसँगै २१ हजार रुपैयाँ नगद राशिको प्रोत्साहन पनि दिइनेछ।

पुरस्कार वितरण समारोह आगामी मङ्सिर १५ गते वीरगञ्जमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा गरिने जानकारी संयोजक सुमनले दिए।

यसअघि वीरगञ्जका पत्रकार मनोज पटेलले पहिलो संस्करणको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पाइसकेका छन्।

छनोट समितिको बैठकमा संयोजक सुमनसहित समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सचिव ब्रिजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साह उपस्थित थिए।

समाजवादी प्रेस सङ्गठन पर्सा शाखाका कार्यसमिति सदस्य समेत रहेका पत्रकार नरेश सर्राफको २०७९ मङ्सिर १५ गते हृदयाघातका कारण अल्पायुमै निधन भएको थियो। उनलाई सम्झिँदै सङ्गठनले पुरस्कार स्थापना गरेको हो।