राजन कुमार बानिया / पर्सा, १२ मंसिर / पर्साको धोबिनी गाउँपालिकामा अवस्थित स्वास्थ्य संस्थाहरूमा पाँच महिनादेखि औषधिको गम्भीर अभाव देखिएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरे पनि लंगडी, धोबिनी, घोडदौरा, हरिहरपुरलगायतका स्वास्थ्य चौकी तथा भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक औषधि उपलब्ध नभएकाले सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य भएका छन्।

बर्थिङ सेन्टरमा प्रयोग हुने प्रसूति–सम्बन्धी औषधि तथा सामान्य सामग्री– साबुन, ग्लोव्स समेत नहुँदा लंगडी र भिखमपुरका बर्थिङ सेन्टर बन्द हुने अवस्थामा पुगेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरिए पनि औषधि आपूर्तिमा गम्भीर लापरबाही देखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

गाउँपालिकाले बजेट विनियोजन गरे पनि अध्यक्ष र उपाध्यक्षबीच कमिशनको भागबण्डा नमिलेका कारण नयाँ आर्थिक वर्ष सुरु भएको पाँच महिना बितिसक्दा पनि औषधि खरिद नभएको स्रोतले जनाएको छ। गत आर्थिक वर्षको अन्त्यतिर करिब ५० लाख बराबरको औषधि उच्च कमिशन चलखेलका कारण सानो–सानो टुक्रामा खरिद गरिएकाले छिट्टै सकिएको स्वास्थ्य चौकी लंगडीका प्रमुख जयन्त यादवले बताए। उनका अनुसार स्वास्थ्य प्रमुखलाई पटक–पटक लिखित माग गर्दा पनि कुनै सुनुवाइ नभएको छ।

स्वास्थ्य संयोजक केबिन्द्रकिसोर यादवले पनि संस्थाहरूबाट आएको माग गाउँपालिकालाई जानकारी गराइसकिएको तर अझै औषधि खरिद प्रक्रिया पूरा नभएको स्पष्ट पारे। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले भने औषधि खरिद प्रक्रिया सुरु भइसकेको दाबी गर्दै छिट्टै औषधि उपलब्ध गराइने आश्वासन दिएका छन्।