काठमाडौं / देशको बजारमा सुनको मूल्य फेरि साढे २ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँले बढी हो।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। विगत एक साताको अवधि हेर्दा मात्र सुनको भाउ करिब ९ हजार रुपैयाँले बढिसकेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। असोज ३१ गते भने सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको ऐतिहासिक रेकर्ड छ।

सुनसँगै चाँदीको मूल्य पनि तीव्र रूपमा बढेको छ। महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ, जुन रेकर्ड नजिकको मूल्य हो। चाँदी अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढेको हो। बिहीबार चाँदी प्रतितोला ३२८० रुपैयाँमा कारोबार भएको थियो।

धातु बजार निरन्तर बढिरहेको अवस्थामा सुन–चाँदीका व्यवसायीहरूले भाउमा अझ उतार–चढाव रहने सम्भावना व्यक्त गरेका छन्।