१२ मंसिर, बारा । बाराको पर्सौनीमा रहेको एक पानी उद्योगका व्यवस्थापकको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ। किरण वेभरेज नेपाल प्रालीमा कार्यरत ४२ वर्षीय रामनरेश सिंहको शव पर्सौनी गाउँपालिका–६ भलुहीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

सर्लाही धनकौलका स्थायी बसोबास भएका सिंहको शव वीरगञ्ज–कलैया सडकखण्ड नजिकै रहेको खोल्सामा स्थानीयले शुक्रबार बिहान देखेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएको थियो। शवको अवस्था हेर्दा बिहीबार राति नै हत्या भएको अनुमान गरिएको छ।

शव भेटिएको स्थान उद्योगसँगै नजिक भएकाले सिंहको उद्योगभित्रै हत्या गरी बाहिर फालिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा लगिएको डिएसपी पण्डितले बताए। ‘भर्खरै पोष्टमार्टमका लागि शव ल्याइएको छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने।