पर्सा, मंसिर १२:, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साद्वारा आज बिहान ८ बजेदेखि एक महत्वपूर्ण जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै गरिएको उक्त कार्यक्रम जि.पर्सा, पटेर्वा सुगौली गाउँपालिका–४ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौलीका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक प्रकाश थापाले बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा विभिन्न खालका लैङ्गिक हिंसाले समाजमा पार्ने दीर्घकालीन नकारात्मक प्रभावबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा अभिमुख गराए। उनले दाइजो प्रथाले जन्म दिने आर्थिक बोझ, सामाजिक विभेद, पारिवारिक द्वन्द्व र मानसिक यातनाका विषयहरूलाई ठोस उदाहरणसहित व्याख्या गर्दै दाइजो लिने–दिने दुवै कार्य कानुनी रूपमा गम्भीर अपराध भएको स्पष्ट पारे।

निरीक्षक थापाले विशेषगरी बालविवाह युवतीहरूको स्वास्थ्यमा पर्ने जोखिम, अपूर्ण गर्भधारणका कारण बढ्ने जटिलता, शिक्षाबाट वञ्चित हुने सम्भावना तथा भविष्यमा घरेलु हिंसाको उच्च दरबारे जोड दिँदै विद्यार्थीहरू स्वयंले समाजमा देखिने गलत चलन–चल्तीविरुद्ध आवाज उठाउँदै रोकथाममा अग्रसर हुनुपर्नेमा बल दिए। उनका अनुसार, “बालविवाह रोकथाममा युवा पुस्ताको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । तपाईंहरू नै समाज परिवर्तनका वास्तविक वाहक हुनुहुन्छ।

उनीले समुदाय–प्रहरी सहकार्यलाई लैङ्गिक हिंसा न्यूनीकरणको प्रभावकारी साधनका रूपमा उल्लेख गर्दै प्रहरी संस्था सर्वसाधारणको सुरक्षाका लागि सबै समय तटस्थ, संवेदनशील र जिम्मेवार भएर कार्यरत रहने प्रतिबद्धता पनि व्यक्त गरे। समाजमा विद्यमान गलत सोच, कुसंस्कार र अन्यायपूर्ण व्यवहारविरुद्ध युवाले जागरुकता फैलाएमा स्थानीय क्षेत्रमा दिगो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्थानीय सरोकारवाला तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागिहरूले अभियानमार्फत प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै घर–परिवार र समुदायमा सचेतना फैलाउने प्रतिवद्धता जनाए।

यस प्रकार, प्रहरी–समुदाय सहकार्यमा आधारित यस जनचेतनामूलक कार्यक्रमले स्थानीय युवाहरूमा सामाजिक उत्तरदायित्व, कानुनी बोध तथा लैङ्गिक हिंसा विरुद्धको सशक्त संदेश दिएको विद्यालय प्रशासनले जनाएको छ।