वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा शुक्रबार बिहान वीरगञ्ज–१६ रजत जयन्तीचोक नजिक चेकजाँचका क्रममा मोटरसाइकल रोकेपछि रकम फेला परेको प्रहरीले जनाएको छ।

भारतको बिहार मोतीहारी रक्सौल–१ का ५३ वर्षीय सुरेन्द्र साहको मोटरसाइकलको बायाँतर्फको एयर फिल्टरभित्र लुकाइ–छिपाइ राखिएको नगद प्रहरीले बरामद गरेको हो। १००० दरका ७०० थान बराबर ७ लाख र ५०० दरका ६०० थान बराबर ३ लाख रुपैयाँसहित मोटरसाइकल पनि नियन्त्रणमा लिइएको पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए।

पर्सा प्रहरीले सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार तथा गैरकानुनी रकम ओसार–पसार नियन्त्रणमा कडाइ गरिएको भन्दै पक्राउ परेका साहमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।