काठमाडौँ । जेनजी आन्दोलनकारी र सरकारबीच भएको वार्तालाई संस्थागत गर्दै लिखित सम्झौता गर्ने तयारी अघि बढेको छ। जेनजीले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षर गर्ने सहमति बनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले सम्झौता प्रक्रियालाई ढिला नगरी छिटो टुङ्ग्याउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिँदै सोमबारभित्र अन्तिम दस्तावेज तयार पार्न आग्रह गरिन्।

उनले हस्ताक्षरका कारण कुनै राजनीतिक वा प्रशासनिक चुनौती आए पनि सरकार जिम्मेवारी लिन तयार रहेको उल्लेख गरिन्। ‘यो राजनीतिक दस्तावेज हो, कर्मचारीहरूलाई चिन्ता लिन आवश्यक छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्।

छलफलमा जेनजी आन्दोलनका केही अगुवा नेता तथा सरकारको तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, खेलकुदमन्त्री र अन्य अधिकारीहरूको सहभागिता थियो।