पर्सा / पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन गरिएको छ। प्रमोद यादवको अध्यक्षतामा बनेको उक्त समूहको घोषणा शनिबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले गरे। नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएका छन्। सदस्यमा आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर, एन्जल चौधरीलगायत रहेकाछन्। सल्लाहकारमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो चयन भएका छन्।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयको भौतिक संरचना लोकतन्त्रपछि सकारात्मक रूपमा सुधार भए पनि विषयगत शिक्षकको अभावले शिक्षाको गुणस्तर अपेक्षित रूपमा उकासिन नसकेको बताए। उनले ‘युट्युबर आतंक’ का कारण शिक्षकहरूमा अनावश्यक दबाब सिर्जना भई पठन–पाठनमा नकारात्मक असर परेको टिप्पणी गरे। उनका अनुसार केही जनप्रतिनिधिद्वारा योग्यताविहीन रूपमा ईसीडी शिक्षक नियुक्त गर्ने प्रवृत्तिले पनि विद्यालयमा थप समस्या बढाएको छ।

त्यस्तै, उपप्राध्यापक डा. सुष्मा तिवारीले २०४६ सालपछि शिक्षामा पहुँच विस्तार भए पनि राज्यको लगानी उल्टो घट्दै गएको बताइन्। उनले मधेस प्रदेशको साक्षरता दर सातै प्रदेशमा सबैभन्दा कम ६९ प्रतिशत रहेको उल्लेख गर्दै पर्सा र वीरगन्जका विद्यालयमा शिक्षक अभाव, शौचालय नहुनु, कमजोर भौतिक पूर्वाधार, अपांगता–मैत्री वातावरणको कमी, तथा प्रयोगविहीन अवस्थामा रहेका कम्प्युटरजस्ता समस्याहरू गम्भीर बनेको बताइन्।

कार्यक्रम शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघ वीरगन्जका अध्यक्ष प्रदीप जयसवाललगायतको सहभागिता रहेको थियो।