पर्सा, मंसिर १४ – पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५, शंकर सरैया टोलमा निकै मात्रामा लागुऔषध गरी गाँजा ओसारपसार गर्ने प्रयास गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले ठूलो परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको छ।

सोमबार साँझ करिब २१:०० बजेतिर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापा तथा अस्थायी प्रहरी चौकी शंकर सरैयाका प्रहरी सहायक निरीक्षक बिकाउ साहको संयुक्त गस्ती टोलीले नियमित गस्तीका क्रममा बासघारी नजिकै पैदल हिँडिरहेका एक वृद्धप्रति शंका गरी रोकि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारत बिहार राज्य, बेतिया जिल्ला मुसहरी टोल बस्ने ६५ वर्षीय गामा बिन (नाम परिवर्तन) ले पिठ्यूमा बोकेको झोलाबाट करिब ३० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाँजा भारत–नेपाल सीमान्चल हुँदै स्थानीय बजार तथा अन्य क्षेत्रमा ओसारपसार गर्ने तयारीमा रहेका बेला पक्राउ गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी निरीक्षक प्रकाश थापाले बताएअनुसार, पक्राउ परेका व्यक्तिलाई गाँजासहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। उनले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार रोकथामका लागि प्रहरीले गस्ती, चेकजाँच तथा निगरानी प्रणाली थप सुदृढ पारेको जानकारी पनि दिए।

हाल पक्राउ परेका वृद्धको बयान लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनाले सीमा क्षेत्रमा बढ्दो लागुऔषध कारोबारप्रति पुनः सुरक्षा निकायहरूलाई थप सतर्क बन्न प्रेरित गरेको छ।