काठमाडौं, १४ मंसिर — देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरीमध्ये रौतहटकी प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव सर्वोत्कृष्टसहित प्रथम घोषित भएकी छन्।

नेपाल प्रहरीको प्रधान कार्यालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा देशभरका सेवा केन्द्रमा कार्यरत प्रहरीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै रागनीलाई उत्कृष्टतामा पहिलो स्थान प्रदान गरेको हो। आइतबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई नगद ४० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरे।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनीकुमारीलाई उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क र सेवा प्रभावकारिताको आधारमा छनोट गरेको हो।

यसै समारोहमा अर्घाखाँची प्रहरी चौकी बालकोटमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार शान्ता खत्री द्वितीय घोषित भइन्। उनले ३० हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरिन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङ तेस्रो भइन्। उनलाई २० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरिएको छ।

यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई नगद १० हजारसहित सान्त्वना पुरस्कार प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।