पर्सा, मंसिर १५ । वरिष्ठ पत्रकार स्वर्गीय नरेश सर्राफको सम्मानमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस वर्ष यात्रा डेली डटकमका पत्रकार आशु कुमार सर्राफलाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखा सभाहलमा आयोजित तेस्रो स्मृति सभाका क्रममा प्रजिअ भोला दाहालले पत्रकार सर्राफलाई दोसल्ला ओढाएर प्रशंसापत्र र नगद २१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले नरेश सर्राफको साहसी, आदर्श र निष्पक्ष पत्रकारिताको चर्चा गर्दै उनको योगदानले नयाँ पुस्ताका पत्रकारहरूलाई मार्गदर्शन गरेको उल्लेख गरे।

मुख्य अतिथि प्रजिअ दाहालले पुरस्कार प्राप्त पत्रकार आशु सर्राफलाई बधाई दिँदै पुरस्कारले थप पेशागत उत्तरदायित्व वृद्धि हुने बताए। उनले समाचार लेखनमा तथ्य प्रमाणित गर्न, विश्वसनीयता कायम राख्न र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्न पत्रकारहरूले ध्यान दिनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले दिवंगत सर्राफ महासङ्घका सक्रिय सदस्य भएको स्मरण गरे। उनले स्मृति पुरस्कारलाई महासङ्घमार्फत दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

महासङ्घ पर्साका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारीताप्रति जनविश्वास कमजोर बन्दै गएको जनाउँदै त्यसलाई पुनः जगाउन सबै पत्रकार एकजुट हुनुपर्ने धारणा राखे।

मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस सङ्गठनका प्रदेश अध्यक्ष मनोज पटेललगायतका वक्ताहरूले स्व. सर्राफलाई निष्पक्षता र जनसेवामुखी पत्रकारिताको नमुना व्यक्तित्वका रूपमा स्मरण गरे।

सभाध्यक्ष शम्भुकुमार सुमनले महासङ्घले स्थापना गरेको स्मृति कोष र पुरस्कार वितरणमा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै आगामी वर्षदेखि महासङ्घमै पुरस्कार वितरण प्रक्रिया नियमित गर्नुपर्ने बताए।

पुरस्कार ग्रहणपछि पत्रकार आशु सर्राफले संगठनप्रति धन्यवाद ज्ञापन गर्दै स्व. नरेश सर्राफ आफ्नो प्रेरणाका स्रोत रहेको बताए। “यो सम्मानले मलाई अझै जिम्मेवार र पेशागत रूपमा निखारिलो बन्न प्रेरणा दिएको छ,” उनले भने।

कार्यक्रममा पर्सा प्रहरी प्रमुख एसपी सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल तथा विभिन्न सञ्चार संस्था र प्रेस सङ्गठनका प्रतिनिधिहरू उल्लेख्य संख्यामा उपस्थित थिए।