एजेन्सी/ ओडिसाको भुबनेश्वर स्थित कालिङा इन्स्टिट्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयका पहिलो वर्षका एक विद्यार्थी आइतबार राति आफ्नै होस्टेल कोठामा मृत फेला परेका छन्। यो यस वर्षकै तेस्रो घटना हो।

मृतकको पहिचान छत्तीसगढको रायगढ निवासी राहुल यादवका रूपमा भएको छ। उनी निजी संस्थामा कम्प्युटर साइन्स इन्जिनियरिङको अध्ययन गरिरहेका थिए।

प्रहरीका अनुसार आइतबार राति ढिलोमा घटना जानकारी आएपछि टोली घटनास्थल पुगेको थियो। लामो समयसम्म कोठा बन्द रहँदा होस्टेलका साथीहरूले प्रशासनलाई खबर गरेका थिए।

“कोठा भित्रबाटै लक भएको अवस्थामा प्रहरीले भिडियोसहित ढोका खोलेको थियो। त्यसपछि शवलाई किम्स अस्पताल लगियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। सूचना केन्द्रीकरण प्रहरी कार्यालय, भुवनेश्वरले ‘अस्वभाविक मृत्यु’ को मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ,” प्रहरी प्रवक्ताले जानकारी दिए।

वैज्ञानिक अधिकृत घटनास्थल पुगेपछि अनुसन्धान अधिकृतले विद्यार्थीको मोबाइल, ल्यापटपलगायतका प्रमाण बरामद गरेका छन्। अभिभावकहरू आउँदासम्म कोठा सिल गरिएको छ।

वरिष्ठ प्रहरी अधिकारीहरूले होस्टेलका विद्यार्थीहरूबाट थप विवरण लिएका छन् र विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्कमा रहेका छन्। मृतकका परिवारका सदस्यहरू भुवनेश्वर आउँदै छन्। “अभिभावक आएपछि मात्र मुचुल्का र पोस्टमार्टम हुनेछ,” प्रहरी अधिकारीले बताए।

क्याम्पसको सुरक्षालाई ध्यानमा राख्दै भुवनेश्वर प्रहरीले एक प्लाटुन सुरक्षाकर्मी तथा वरिष्ठ अधिकारीहरू खटाएको छ।विद्यापीठ प्रशासनले चाँडै नै आधिकारिक वक्तव्य जारी गर्ने जनाएको छ।यसअघि जुलाईमा, दुई नेपाली विद्यार्थीको मृत्युप्रकरणपछि विश्वविद्यालयअनुदान आयोग (University Grants Commission-UGC) ले KIIT विश्वविद्यालयलाई “अनुशासनिक वा कानुनी कारबाही किन नगर्नु पर्ने?” भनेर स्पष्टीकरण मागेको थियो।

UGC -University Grants Commission द्वारा गठन गरिएको तथ्य–अन्वेषण समितिले फेब्रुअरी १६ र मे १ का आत्महत्या घटनाको अध्ययन गर्दा विश्वविद्यालयका “अवैध तथा गैरकानुनी गतिविधि” ले तीमध्ये एक जनाको मृत्यु हुन पुगेको निष्कर्ष निकालेको थियो। समितिले KIIT प्रशासनका कार्यहरू “अपराधजन्य जिम्मेवारी” अन्तर्गत पर्न सक्ने पनि बताएका थिए।