नवलकिशोर यादव, वीरगञ्ज, १६ मंसिर / पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित रङ्गपुरटाँडी प्रहरी चौकीमा सोमबार दिउँसो पकडिएका दुई जना गाँजा तस्करलाई स्थानीय तस्करहरूको ठूलो समूहले ‘फिल्मी शैली’मा छुटाउने प्रयास गरेको भए पनि प्रहरीको सक्रियताले त्यो योजना असफल भएको छ।

प्रहरीले पूर्व सूचनाका आधारमा मकवानपुरबाट बाराको जीतपुर हुँदै जनता सडकमार्ग प्रयोग गर्दै सोनवर्षामा भण्डारणका लागि लैजाँदै गरेको अवस्थामा १०० किलोभन्दा बढी गाँजा बरामद गरेको थियो। बरामद गरिएको गाँजा Ba Ba 2398 नम्बरको गाडीमा लोड गरिएको थियो।

पक्राउ परेकाहरूमा कुमार स्याङ्ताङ (मकवानपुरगढी–३, मकवानपुर) र भीम स्याङ्ताङ (भीमफेदी–८, मकवानपुर) रहेका छन्। प्रहरी सहायक निरीक्षक रामनिवास साह नेतृत्वको टोलीले उनीहरूलाई चौकीमा ल्याएको केही बेरमै तस्कर समूहले हमला सदृश वातावरण बनाउँदै अभियुक्त छुटाउने प्रयास गरेको थियो।

दिउँसो करिब ३ बजे सोनवर्षाका ३ जना कारोबारीको नेतृत्वमा ठूलो भीड चौकीमा पुगेको र जबरजस्ती पक्राउ परेकाहरूलाई छुटाउन खोजेको प्रहरीले जनाएको छ। चौकीमा जनशक्ति न्यून भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा थप बलियो प्रहरी फोर्स पठाइएपछि तस्कर समूह भागमभाग भएका थिए।