पर्सा,१७ मंसिर । किसानलाई आधुनिक र प्रभावकारी कृषि अभ्यासतर्फ अभिमुख गराउने लक्ष्यसहित जगरनाथपुर गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत गहुँ बीउ वितरण गरेको छ। मंगलबार सार्वजनिक रूपमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बीउ वितरण अभियानको उद्देश्य र अपेक्षित परिणामबारे जानकारी दिएका हुन्।

अध्यक्ष यादवका अनुसार गुणस्तरीय बीउ समयमै किसानसम्म पु¥याउन सके कृषि उत्पादनमा मात्र होइन, किसानको समग्र आर्थिक अवस्था सुधार गर्न पनि टेवा पुग्ने छ। “समृद्ध गाउँपालिकाको आधार नै समृद्ध किसान हो। प्रतिस्पर्धी कृषि प्रणाली निर्माणका लागि उत्तम बीउ अनिवार्य हुन्छ,” उनले भने।

गाउँपालिकाले किसानको सक्रिय सहभागिता सुनिश्चित गर्दै बाली उत्पादन वृद्धि र लागत घटाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाएको हो। उन्नत गहुँ जातका बीउ प्रयोगले उपजमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएकाले स्थानीय किसानहरूबीच उत्साह थपिएको छ।

कार्यक्रमका सहभागी किसानहरूले गाउँपालिकाद्वारा प्रदान गरिएको सहुलियतपूर्ण बीउ सहयोगले खेतीपातीमा नयाँ ऊर्जा भरिदिएको बताउँदै आगामी दिनमा पनि यस्ता किसान–मैत्री पहल निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

अध्यक्ष यादवले कार्यक्रम सफल बनाउन साथ र योगदान उपलब्ध गराउने सबै किसानप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी कृषि कार्यक्रम ल्याइने घोषणा गरेका छन्।