पर्सा, १७ मंसिर । मधेश प्रदेश सभामा आज चलिरहेको बैठक तनावपूर्ण बन्दै गएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतअघि आफ्नो भनाइ राख्दै गर्दा विपक्षी दलका सांसदहरू असन्तुष्ट हुँदै सभाबाट बाहिरिएका छन्।

मुख्यमन्त्रीले सातदलीय गठबन्धनका गतिविधि र राजनीतिक व्यवहारतर्फ संकेत गर्दै सम्बोधन सुरु गरेपछि नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका सांसदहरूले आपत्ति जनाउँदै बैठक बहिष्कार गर्ने निर्णय लिएका हुन्।

सर्वोच्च अदालतले २४ कात्तिकमा शपथ लिएका मुख्यमन्त्री यादवलाई १५ मंसिरभित्र अनिवार्य रूपमा विश्वासको मत लिने आदेश दिएपछि आजको बैठकलाई निर्णायक मानिँदै आएको थियो।

विपक्षीहरू बाहिरिएसँगै अहिले सदनमा नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू मात्र उपस्थित रहेका छन्।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको हस्तक्षेपपछि मधेश प्रदेशको राजनीतिक वातावरण थप चर्किएको छ।