बारा / बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि पराल तथा भुस बोकेका गाडी चालकहरूले बुधबारदेखि धर्ना जारी राखेका छन्। मंगलबारदेखि मधेश प्रदेशका जिल्लामा ट्राफिक प्रहरीले ओभरलोडको नाममा अनावश्यक दु:ख दिएको आरोप लगाउँदै चालकहरू आन्दोलनमा उत्रिएका हुन्। धर्नाका कारण पथलैयामा मात्रै करिब डेढ सय गाडी सडकमै रोकिएका छन्।

बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि यसै प्रकारका गाडी रोकिन थालेका छन्। तराईबाट हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायत स्थानतर्फ पराल तथा भुस ढुवानीका लागि छुटेका गाडी मुख्य सिजनमै अवरुद्ध हुँदा किसान तथा कारोबारी मारमा परेको गुनासो छ। नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्षले पशुपालन तथा च्याउ खेतीका लागि पराल स्टक गर्ने संवेदनशील समयमा ट्राफिकको अवरोधले उत्पादनमा असर परेको बताए।

यसैबीच, ट्राफिक प्रहरी पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले ‘भब्बर लोड’का कारण राजमार्गमा क्षति र दुर्घटना जोखिम बढेकाले नियन्त्रण आवश्यक रहेको बताए। उनका अनुसार वजन धेरै नभए पनि पराल–भुस बोकेका गाडीहरू अत्यधिक उचाइसम्म लोड गरी गुड्दा मार्ग–सुरक्षाका समस्या बढिरहेका छन्। ट्राफिकले जोखिम रोक्ने उद्देश्यले कारबाही गरेको दाबी गर्दै उनले सवारी व्यवस्थापन आफ्नो बाध्यता भएको स्पष्ट पारे।