वीरगञ्ज। पर्सा जिल्ला प्रशासन कार्यालयले सीमा नाकाबाट अपरिचित व्यक्ति वा समुदाय जिल्लाभित्र प्रवेश गर्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा क्षेत्रमा सुरक्षा निकायद्वारा चेकजाँच कडा पारिएको र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको सुरक्षा इकाईलाई खबर गर्न अनुरोध गरिएको प्रशासनको जानकारीमा उल्लेख छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोष कुमार पोखरेलले जारी गरेको सूचनामा सुरक्षा संवेदनशीलता बढेकाले कुनै पनि अपरिचित व्यक्तिको आवतजावतप्रति सचेत रहनुपर्ने बताइएको छ। सूचनामा परिचय स्पष्ट नभएका व्यक्तिहरूलाई घर–परिवारमा बस्न नदिन र कुनै कामकाजमा संलग्न गराउन निषेध गरिएको छ।

जिल्लाको शान्ति–सुरक्षा र अमनचयन कायम राख्न गरिएको यो कदममा सबै नागरिकको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार सीमामा कडाइका उपायले सम्भावित जोखिम नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ।