मंसिर १८, पर्सा — एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डु क्षेत्रमा नयाँ आवास निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ।

महेश बस्नेतको पहलमा निर्माण थालिएको ‘ओली कुटी’ नामक भवनको बिहीबार विशेष समारोहबीच अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन्।

गत भदौ २३–२४ मा जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित ओलीको निजी निवास आगजनीमा परेको थियो। त्यसयता उनी गुण्डुमा भाडाको घरमा बस्दै आएका छन्। जन्मथलो तेह्रथुम, गृहजिल्ला झापा हुँदै बालकोटमा बसोबास गरिरहेका ओलीको घर आन्दोलनकारीहरूले जेन–जीहरूको नाममा जलाइदिएपछि तत्कालका लागि बस्नेतले वैकल्पिक बसोबासको व्यवस्था मिलाएका थिए।

बस्नेतले यसअघि नै गुण्डुमा ओलीका लागि नयाँ भवन निर्माण गर्ने घोषणा गरेका थिए, सोही प्रतिबद्धता अब औपचारिक काममा रूपान्तरण भएको छ।