वीरगञ्ज, १८ मंसिर । नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट प्रयोग गर्ने मार्ग खुल्ने संकेत देखिएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले हालै नेपाल र भुटानका लागि ठूला भारतीय नोटको भित्र्याउने, लैजाने तथा सटही प्रक्रियामा ठूलो सहजीकरण गरेपछि नेपालमा पनि वर्षौँदेखि रोकिएको प्रतिबन्ध हट्न सक्ने अवस्था बनेको हो।

आरबीआईले जारी गरेको ‘विदेशी मुद्रा व्यवस्थापन (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली–२०२५’ ले अब कुनै पनि नागरिक—भारतीय वा अन्य देशका—ले नेपाल वा भुटान यात्रा गर्दा २५,००० भारतीय रुपैयाँसम्म १०० भन्दा माथिका नोट सहजै बोक्न सक्ने व्यवस्था गरेको छ। यिनै दरका नोट लिएर भारत फर्कन पनि समान सुविधा प्रदान गरिएको छ।

यसअघि नेपालले सुरक्षा तथा नियमनका कारण १०० भन्दा माथिका सबै भारतीय नोटमा पूर्ण प्रतिबन्ध लगाएको थियो। विशेषगरी भारतले २०१६ मा नोटबन्दी गरेपछि ५०० र १,००० का नोट अड्किएको समस्या अझै समाधान नभए पनि नयाँ नीतिले लेनदेन फेरि सहज बन्ने विश्वास लिइएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आरबीआईको कदमलाई सकारात्मक भन्दै यसले सीमा क्षेत्रका व्यापारी, भारतमै श्रम गर्ने नेपालीहरू तथा नेपाल आउने भारतीय पर्यटक सबैलाई राहत पुग्ने उल्लेख गरे। उनका अनुसार, नेपाल राष्ट्र बैंकले अब चाँडै परिपत्र जारी गरी रोकिएको सटही तथा कारोबार औपचारिक रूपमा खोल्ने तयारी गरिरहेको छ।

नयाँ सुविधा नेपाल र भुटानका लागि मात्र लागू हुनेछ। तर पाकिस्तान र बङ्गलादेशका नागरिक भने यस प्रावधानको दायरा बाहिर रहनेछन्। भारतले २,००० को नोट छाप्न २०२३ मै रोक लगाए पनि पुराना नोटहरू अहिले पनि कानुनी रूपमा चलनचल्तीमा छन्।

राष्ट्र बैंकले अनुमति दिएपछि देशभरका बैंक, वित्तीय संस्था र मनी चेन्जरहरूमा २००, ५०० र २,००० को नोट सटही तथा कारोबार गर्न मार्ग खुल्नेछ। लामो समयदेखि सीमित रहेको भारतीय मुद्रा व्यवस्थापनमा आएको यो परिवर्तनलाई नेपाल–भारत आर्थिक सहकार्य सुदृढ बनाउने महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।