मधेश  / मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेस नेता यादवले ७७ जना सांसदको समर्थनसहित मुख्यमन्त्री दाबी पेश गरेका थिए।

आज बसेको छ दलिय बैठकले कांग्रेसलाई नेतृत्व दिने सहमति बनाएपछि यादवको नाम टुंगिएको हो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो दाबी छोडेपछि नेपाली कांग्रेसका यादवका पक्षमा सहमति जुटेको हो। गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र जनमत पार्टीको समर्थन रहेको छ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने देखिएपछि पदबाट राजीनामा दिएका थिए। नयाँ बहुमत गठबन्धनको समर्थनसहित कृष्णप्रसाद यादवले अब प्रदेश सरकारको नेतृत्व गर्नेछन्।