काठमाडौँ  / आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूलाई निर्वाचन आयोगले निवेदन पेस गर्न आमन्त्रण गरेको छ। आयोगले आज जारी गरेको सूचनामा शनिबारदेखि सुरु हुने कार्यक्रमअनुसार निर्धारित मितिभित्र दलहरूले निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आयोगले जारी गरेको तालिकाअनुसार मङ्सिर २१ गते बिहान १०:०० बजेदेखि २३ गते अपराह्न ४:०० बजेसम्म समानुपातिक प्रणालीमा सहभागी हुन चाहने दलले आफ्नो निवेदन आयोगमा पेस गर्नुपर्नेछ। यसअघि नै आयोगले कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ। सो पदका लागि आयोगका सचिव महादेव पन्थलाई जिम्मेवारी तोकिएको छ।

यस्तै, आयोगले मङ्सिर २४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म निवेदन दर्ता गराएका दलको नामावली सार्वजनिक गर्ने जनाएको छ। आवेदन दिएका दलले पुस १३ र १४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न सक्नेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि अब करिब ९० दिन बाँकी छ।

प्रत्यक्ष तर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचन कार्यक्रम पनि आयोगले सार्वजनिक गरिसकेको छ। सोअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ र मनोनयनका सूची पनि सोही दिन प्रकाशित गरिनेछ। माघ ७ गतेसम्म मनोनयनविरुद्ध उजुरी गर्ने समय रहनेछ भने माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

त्यसपछि माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ। यस्तै, आयोगले माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको तयारी पनि एकैसाथ अगाडि बढाइरहेको छ।

inbound2352539692329519991-1764914452.jpg