काठमाडौँ /  भारतको औपचारिक भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा अनुवादित भगवद्गीता प्रदान गरेका छन्। मोदीले पुटिनलाई उक्त ग्रन्थ सुपुर्द गर्दै गीताको शिक्षाले विश्वभरिका लाखौं मानिसलाई मार्गदर्शन र प्रेरणा दिएको उल्लेख गरे।

राष्ट्रपति पुटिन बिहीबार साँझ दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका हुन्। दिल्लीको पालम विमानस्थलमा अवतरण भएको केहीबेरमै प्रधानमन्त्री मोदीले स्वयं उपस्थित भई रुसी राष्ट्रप्रमुखको स्वागत गरेका थिए। औपचारिक स्वागतपछि दुवै नेता एउटै वाहनमा ७, लोक कल्याण मार्गस्थित प्रधानमन्त्रीको आधिकारिक निवासतर्फ गएको जनाइएको छ।

युक्रेन युद्ध सुरु भएपछिको यो पुटिनको पहिलो भारत यात्रा मानिएको छ। भ्रमणका क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदी २३ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सरकारी स्रोतले जनाएको छ।