वीरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सातजना नेताले पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित हुने निर्णय सार्वजनिक गरेका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले जनार्दन शर्माको पक्षमा उभिने घोषणा गरे।

पार्टी छाड्ने नेतामा नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा क्षेत्र नं. २ का क्षेत्रीय इञ्चार्ज अमिताभ बच्चन दास, नेता सन्तोष राज घिमिरे, क्षेत्रीय संयोजक सुनिल रौनियार, कालिकामाई गाउँपालिकाका दिनेश प्रसाद यादव, फनिद्र प्रसाद गुप्ता, तथा अखिल क्रान्तिकारीका केन्द्रिय लेखा आयोगकी उपाध्यक्ष गायत्री सिंह रहेका छन्।

नेताहरूले माओवादी केन्द्र “कम्युनिष्ट नाममा गैर–कम्युनिष्ट शैलीमा चलिरहेको” र नेतृत्वले जनवादी केन्द्रीयताको नाममा “कोटको गोजीबाट” मान्छे छान्ने प्रवृत्ति हावी रहेको आरोप लगाए। वर्तमान नेतृत्वलाई उनीहरूले “वृद्ध क्लब” जस्तै चलिरहेको अभिव्यक्ति दिए।

उनीहरूले एआई र नयाँ पुस्ताले चाहेको गतिशील राजनीतिक नेतृत्व वर्तमान पार्टी संरचनाबाट सम्भव नभएको उल्लेख गर्दै नयाँ संगठनात्मक विधि, नयाँ राजनीतिक सोच र सामाजिक मुद्दा केन्द्रित अभियानबाट समाजवादको दिशामा संघर्ष हुने प्रतिबद्धता जनाए।
साथै शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, संघीयताको पूर्ण कार्यान्वयन र समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने बताए।

पत्रकार सम्मेलनमा नेता श्रेष्ठ र दासले पार्टीले जनयुद्धकालीन सहयोद्धालाई पाखा लगाएर नवआगन्तुक, विचारविहीन र दलाल पूँजीपतिको पक्षमा उभिनेहरूको घेराबन्दीमा नेतृत्व परेको आरोप लगाए। जिल्ला नेतृत्व कमजोर हुँदासमेत केन्द्रीय नेतृत्व “गणेश प्रवृत्तिमा रमाएको” र केही पहल नगरेको कारणले बाध्य भएर पार्टी छाड्नुपरेको दाबी पनि उनीहरूले गरे।

यसबारे माओवादी केन्द्र, पर्सा नेतृत्वले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।