१९ मंसिर, विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मितिमा बरामद गरेको पाँच हजार पाँच सय २७ किलो गाँजा नष्ट गरेको छ। शुक्रबार प्रहरी कार्यालय परिसरभित्रै खाल्डो खनेर उक्त गाँजा नष्ट गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार गाँजा जलाउँदा वातावरणीय प्रभाव पर्ने भएकाले यसपटक खाल्डो खनेर सुरक्षित रूपमा गाडिएको हो। प्रहरीले बरामद गरेको गाँजा मोरङ जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो।

कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा र भोजपुरका केही गाउँमा अवैध रूपमा गाँजा खेती हुँदै आएको छ। पहाडमा उत्पादित गाँजा चोरबाटो हुँदै भारतीय बजारसम्म पुगीरहेको पाइएको प्रहरीको भनाइ छ।