पर्सा। सखुवा प्रसौनी गाउँपालिकामा २२औं ‘महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२’ भव्य रूपमा मनाइएको छ। “स्वस्थ समुदायको निर्माण–महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदान” नाराका साथ आयोजना गरिएको कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारको अध्यक्षतामा सम्पन्न भयो।

दिवसका अवसरमा शुक्रबार बिहान एक विशाल सचेतनामूलक र्‍याली आयोजना गरिएको थियो। र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य सचेतना सम्बन्धी प्लेकार्ड र ब्यानरसहित बजार क्षेत्र परिक्रमा गरे।

कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य शाखा प्रमुख रौनियारले समुदायमा स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै मातृ–शिशु मृत्यु दर घटाउने, खोप अभियान सफल पार्न तथा स्वास्थ्य सचेतना फैलाउन उनीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

गाउँपालिकाको कार्यालयबाट सुरु भएको र्‍याली गाउँ परिक्रमा गर्दै पुनः कार्यालय परिसरमै आएर कोणसभामा परिणत भएको थियो। हरेक वर्ष डिसेम्बर ५ (मंसिर १९) का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभर मनाइन्छ।