प्रमोद यादव,पर्सा, २० मङ्सिर/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष आर्थिक सहयोगमा पर्साको ग्रामीण क्षेत्रमा पहिलोपटक प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्यापन शुरू भएको छ । तीन शैक्षिक सत्रदेखि पर्सागढी नगरपालिका–९ बडेर्वामा प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्यापन जारी छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ग्रामीण भेगका विद्यार्थीलाई लक्षित गर्दै प्राविधिक शिक्षाको अध्यापन आरम्भ गरेको विद्यालयका प्रधानाध्यापक चेतमनप्रसाद दास थारूले बताए । गाउँमै प्राविधिक शिक्षाको पठनपाठन शुरू भएपछि महँगो शुल्क तिरेर शहर पस्नुपर्ने बाध्यता हटेको छ भने स्थानीय र आसपासका गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरू निश्शुल्करूपमा प्राविधिक शिक्षा प्राप्त गर्न पाउँदा उत्साहित भएका छन् ।

कक्षा १० की छात्रा पुष्पा चौधरीले गाउँघरमा नै प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्ययन गर्ने अवसर प्राप्त हुँदा खुशी व्यक्त गरिन् ।

चार वर्षे कोर्षको रूपमा सञ्चालन भइरहेको प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्ययनमा हाल विद्यार्थीहरूको आकर्षण बढ्दो छ । विद्यालयका अनुसार हाल कक्षा ९ मा ३०, कक्षा १० मा २६ र कक्षा ११ मा आठजना गरी कुल ६४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि ३५ वटा कम्प्युटर जडान गरिएको छ ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले तीनजना दक्ष कम्प्युटर इन्जिनीयर प्रशिक्षक राजीव यादव, उज्ज्वल पटेल र रितेश सर्राफलाई नियुक्त गरेको छ ।

प्राविधिक शिक्षा प्रFप्तिका लागि यस अघि काठमाडौं, भरतपुर र जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । तर अहिले तीन वर्षदेखि गाउँमा अध्यापन हुन थालेपछि विद्यार्थीहरू हर्षित छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा अञ्जली चौधरी भन्छिन्– “यस्तो विषय पढ्न पहिला बाहिर जानुपथ्र्यो, धेरै खर्च लाग्थ्यो । अहिले आफ्नै घरको खाना खाएर, नजीकैको विद्यालयमा टेक्निकल कम्प्युटर इन्जिनीयरिङ विषय पढ्न पाउँदा अति नै खुशी छु । यसले अभिभावकको आर्थिक भार पनि कम गरेको छ र मजस्ता विद्यार्थीहरूमा थप ऊर्जा प्रवाह भएको छ ।”

प्रअ थारू यो उपलब्धि सजिलै प्राप्त नभएको बताउँछन् । उनले ग्रामीण क्षेत्रको यस विद्यालयमा प्राविधिक धार (टेक्निकल कम्प्युटर इन्जिनीयरिङ) भिœयाउनका लागि शिक्षा विभाग र मन्त्रालयमा अहोरात्र मेहनत र पहल गरिएको बताए ।

पर्साको ग्रामीण क्षेत्रमा प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्यापन हुने यो पहिलो विद्यालय भएको उनले दाबी गरे । उनले तीन वर्षदेखि प्राविधिक धारतर्फको टेक्निकल कम्प्युटर इन्जिनीयरिङ शिक्षाको अध्यापन शुरू भएको र अहिले विद्यार्थी र अभिभावकको मुहारमा खुशी देख्दा हाम्रो मेहनत सफल भएको महसूस गरेको बताए ।

सरकारले प्रत्येक वडामा एक प्राविधिक (टेक्निकल कम्प्युटर इन्जिनीयर) राख्ने प्रावधान शुरू गर्न थालेको छ । विद्यालयले सञ्चालन गरेको यो कोर्ष पूरा गरेपछि विद्यार्थीहरू दक्ष र क्षमतावान् बन्ने र सरकारीस्तरमा सिर्जना हुने रोजगारका अवसरहरूमा प्राथमिकता पाउने विश्वास लिइएको छ ।

निवर्तमान वडाध्यक्ष रामनारायण गौरो थारूले यसलाई ग्रामीण विद्यार्थीहरूका लागि सुनौलो अवसरको संज्ञा दिए । उनले भने– “यो कार्यक्रमले गाउँका छोराछोरीलाई प्राविधिक बनाउने मात्र होइन, अभिभावकको आर्थिक भार पनि कम गरेको छ ।” घरकै खाना खाएर भविष्य निर्माण गर्ने यो अवसरको सदुपयोग सबैले गर्नुपर्ने उनी बताउँछन् ।