हेटौंडा /  हेटौंडामा सडक विस्तारको काम शनिबार बिहानैदेखि व्यापक रूपमा सुरु गरिएको छ। सडक डिभिजन हेटौंडाले आवश्यक रेखाङ्कभित्र पर्ने घर–टहरा हटाउन सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच डोजर परिचालन गर्दै कारबाही अघि बढाएको हो।

बुद्धचोक क्षेत्रमा रहेको एउटा खाली घर भत्काउने काम अहिले जारी छ। डिभिजनले बजारका अन्य विभिन्न स्थानहरूमा पनि ३/४ स्थानबाट एकैसाथ डोजर चलाएर विस्तार कार्य अगाडि बढाइरहेको जनाएको छ। संरचना हटाउने अभियान चरणबद्ध ढंगले सञ्चालन हुने डिभिजनले बताएको छ।

यसअघि महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्ती पुल तथा त्रिभुवन राजपथको बुद्धचोक–सामरी पुल खण्डमा २५/२५ गज विस्तारका लागि १५ दिनको अल्टिमेटम जारी गरिएको थियो। सो समयसीमा शुक्रबार सकिएसँगै आजदेखि बलपूर्वक रेखाङ्कभित्रका संरचना हटाउने काम प्रारम्भ भएको हो।