काठमाडौँ। रोशनी झा र अंशु महतोको मृत्यु प्रकरणमा न्यायको माग गर्दै माइतीघर मण्डलामा आज दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको छ। Youth Activism तथा पीडित परिवारका आफन्तहरूको सक्रिय सहभागितामा आयोजित प्रदर्शनमा दर्जनौँ युवा अभियन्ता र सर्वसाधारणले ऐक्यबद्धता जनाए।

प्रदर्शनकारीहरूले “Justice for Roshni Jha”, “Justice for Anshu Mahato”, “Our Daughters Deserve Justice, Not Silence” र “Government: Wake Up, We Need Answers” जस्ता सन्देशसहितका प्लेकार्ड बोकेर दुवै घटनाका बारेमा निष्पक्ष, पारदर्शी र छिटोछरितो छानबिनको माग उठाए।

दिउँसो ३ बजेदेखि ५ बजेसम्म चलेको शान्तिपूर्ण प्रदर्शनमा वक्ताहरूले महिलामाथि हुने हिंसा, राज्य संयन्त्रको लापरबाही, तथा मृत्यु प्रकरणमा देखिने दण्डहीनताविरुद्ध कडा आवाज उठाए। आयोजकहरूले प्रदर्शन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई, देशमा बढ्दै गएको प्रणालीगत कमजोरी र अन्यायको विरुद्ध भएको स्पष्ट गरे।

Youth Activismका अध्यक्ष अर्जुन शाहले भने,


“ढिलो भएको न्याय भनेको अन्याय हो। राष्ट्रका छोरीहरू अन्यायमा परिरहँदा नेपाली युवा मौन बस्दैनन्।”

प्रदर्शन ‘सत्य र न्याय’ शीर्षकका सामूहिक प्रतिज्ञासहित सम्पन्न भयो। सहभागीहरूले सरकार र सुरक्षानिकायलाई दुवै घटनामा तात्कालिक, पारदर्शी र विश्वसनीय छानबिन गर्न आग्रह गर्दै “Peaceful Protest, Powerful Message: Justice Now!” तथा “Protect Our Daughters, Respect Their Voices!” जस्ता नारा बुलन्द पारे।