काठमाडौँ । प्रविधिको दुरुपयोग गरेर ठगी गर्नेको सङ्ख्या विश्वव्यापी रूपमा दिनानुदिन बढ्दो छ । सर्वसाधारणलाई झुक्याउन स्क्यामर हरेक पटक नयाँ नयाँ जुक्ति अपनाइरहेका हुन्छन् । तर, कहिलेकाहीं यस्ता स्क्यामर सामान्य असावधानीका कारण आफैँ फस्न पुग्छन् । यस्तै एक घटना भारतमा भएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट आफन्तको नाटक गर्दै ठग्न खोजेका एक स्क्यामरलाई टेकी युवकले च्याटजीपीटीको सहायताले कोड तयार पारे । र, उक्त लिङ्कमा क्लिक गर्न लगाएर एक्सपोज गरेका छन् । उनले कसरी एउटा स्क्यामरले जिओलोकेसन र फोटो निकाल्न सफल भए भन्ने जानकारी रेडिटमा सार्वजनिक गरेका छन् ।

रेडिटमा ‘@RailfanHS’ युजरनेम भएका ती युवकलाई सबैभन्दा पहिले फेसबुकमा चिनजानकै व्यक्तिको नामबाट फेसबुकमा मेसेज आयो । स्कुलमा सिनियर रहेका ती चिनजानका व्यक्ति वास्तवमा आईएएस अफिसर थिए । फेसबुकमा आ  एको मेसेजमा ती आईएएस अफिसरका सीआरपीएफ साथी सन्तोष कुमारको सरुवा भएको र उनको फर्निचर तथा सामान सस्तोमा बिक्री गर्न लागिएको जानकारी दिइयो । र, ती टेकी युवकसँग उनको नम्बर मागियो । त्यसअघि सही नै होला भन्ने ठानेका ती युवकले नम्बर मागेपछि भने उनी सशंकित भए । किनभने ती सिनियर आईएएस अफिसरसँग युवकको नम्बर पहिले नै थियो ।

त्यसैलाई पुष्टि गर्न युवकले ह्वाट्सएपबाट ती आईएएस अफिसरलाई सम्पर्क गरे । र, फेसबुकमा आएको मेसेज ठगी गर्ने उद्देश्यले आएको हो भन्ने बुझिहाले । “सुरुमा त मैले त्यो ठगलाई ब्लक गर्ने सोचेको थिएँ, तर उनीहरूको धन्दा कति ठुलो रहेछ भन्ने बुझेपछि म रोकिएँ,” उनले भनेका छन्, “लगत्तै आर्मीको प्रोफाइल पिक्चर भएको अर्को नम्बरबाट म्यासेज आयो जसले सामानको फोटो पठाउँदै तुरुन्तै क्यूआर कोडमा पैसा माग्यो । त्यसपछि भने मैले कुराको जरैसम्म पुग्ने र उल्टै पासा पल्टाउने निधो गरेँ ।”

ठगले आर्मीको पोसाक लगाएको प्रोफाइल भएको अर्को नम्बरबाट पेमेन्टको लागि ‘क्यूआर कोड’ पठायो । ती व्यक्तिले प्राविधिक समस्या भएको बहाना बनाउँदै भुक्तानीमा ढिलाइ गरे ।

यही मौकामा उनले च्याटजीपीटीको मद्दत लिएर एउटा विशेष वेबसाइटको कोड तयार गरे । यो कोड यसरी डिजाइन गरिएको थियो कि कसैले त्यो लिङ्क खोल्दा उसको जीपीएस लोकेसन र डिभाइसको फ्रन्ट क्यामेराबाट फोटो खिच्न सकिन्थ्यो ।

उनले ठगलाई उक्त लिङ्क पठाउँदै भने, “यस लिङ्कमा क्यूआर कोड अपलोड गर्नुस् । पेमेन्ट प्रक्रिया छिटो हुन्छ ।” पैसाको लोभ र हतारमा रहेका ठगले तुरुन्तै लिङ्कमा क्लिक गरे । लिङ्क क्लिक गर्नासाथ ठगको लोकेसन, आईपी ठेगाना र अनुहारको स्पष्ट फोटो ती व्यक्तिको सिस्टममा रेकर्ड भयो ।

जब ती व्यक्तिले ठगलाई उसकै तस्बिर र लोकेसनको विवरण पठाए, ठगको होस उड्यो । आफू फसेको थाहा पाएपछि ठगले डराउँदै लगातार म्यासेज गरेर माफी माग्न थाल्यो र अबदेखि यस्तो ठगी धन्दा बन्द गर्ने वाचा गर्यो ।

ती व्यक्तिले रेडिटमा ‘च्याटजीपीटी प्रयोग गरेर स्क्यामरको लोकेसन पत्ता लगाएँ र उसलाई माफी माग्न बाध्य बनाएँ’ शीर्षकमा कुराकानीका स्क्रिनशट शेयर गरेका छन् ।

यो पोस्ट भाइरल भएपछि धेरैले उनको चलाखीको तारिफ गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “तपाईंलाई मान्नै पर्छ । एआईको सही प्रयोग भनेको यही हो ।”

अर्का प्रयोगकर्ताले भने, “यो केवल च्याटजीपीटीलाई कोड लेख्न लगाउनु मात्र होइन, यसमा तपाईंको आईटी ज्ञानले पनि काम गरेको छ । सामान्य मानिसले यसरी सुरक्षित रूपमा ट्र्याक गर्न गाह्रो हुन सक्छ ।” Source : TechPana